स्थानीय नेताहरूको एकमत र जिल्लावासीको इमानदार प्रयासले हिमाली जिल्ला भएर पनि दोलखा समृद्ध आर्थिक गतिविधिको केन्द्र बन्दैछ।
– सरोज दाहाल र प्रभात भट्टराई, दोलखाबाट फर्केर
|
दोलखाको चरिकोट बजार ३० वर्षअघि | | | | | | | | | |
|
दोलखाको चरिकोट बजार (अहिले) |
• दोलखाका ४३५ सहकारी संस्थामा जिल्ला विकास समितिको वार्षिक बजेटको झण्डै तीन गुणा रु.१ अर्ब ३० करोड निक्षेप सङ्कलन भएको छ।
गत आर्थिक वर्षमा रु.६ करोडको वन पैदावार तथा काष्ठजन्य बस्तु निकासी
भयो, जुन सदरमुकाम भीमेश्वर नगरपालिकाको वार्षिक बजेट भन्दा दोब्बर हो।
• दोलखामा आगामी ५-६ वर्षमा १५०० मेगावाट बिजुली उत्पादन हुँदैछ र यसको रोयल्टीबाट जिल्लाले वार्षिक रु.२५ करोड आर्जन गर्नेछ।
• जापानी नोटको कच्चा पदार्थका लागि दोलखाले गरिरहेको व्यावसायिक अर्गेली खेतीमा आउँदो वर्ष १६०० महिलाले काम पाउने छन्।
• सिन्धुपाल्चोक र दोलखा सीमामा रियन्ट
म्याग्नेसाइट उद्योग चलेको खण्डमा कम्तीमा ४ हजारले रोजगारी पाउनेछन् र
त्यहाँ ५० वर्षलाई पुग्ने गुणस्तरीय खरिढुङ्गा रहेको अनुमान छ।
दुर्गम हिमाली जिल्लामा सूचीकृत दोलखालाई
यी तथ्यहरूबाट मात्र चिनाउन खोजियो भने अपुरो हुनेछ। काठमाडौंबाट १३२
किलोमिटर पूर्वको दोलखाका बासिन्दाले २०४० सालमै कालोपत्रे सडक देख्न पाएर
मात्र हैन, राजधानीको राजनीतिक खिचातानी भित्रिन नदिएर छिटो आर्थिक
सामर्थ्य हासिल गरेका हुन्।
“मैले करिब दुई दर्जन जिल्लामा काम गरेँ,
तर दोलखामा जस्तो विकासमा दलीय मिल्ती अन्यत्र देखिनँ”, स्थानीय विकास
अधिकारी (एलडि) गोपालप्रसाद पराजुलीको यो अभिव्यक्तिले दोलखामा कार्यरत
सरकारी कर्मचारीहरूको विचारको प्रतिनिधित्व गर्छ। जिल्लाको विकासमा
दोलखाली नेताहरूको एकता उदाहरणीय छ। जिल्ला विकास समिति राजनीतिको अखडा
नभई विकासको छाता संस्था भएको छ। जुनसुकै पार्टीका हुन्, नेताहरूले
भागबण्डा हैन; जिल्लाको हितमा परिपक्व साझ्ेदारी गरेका छन्, जसमा कर्मचारी र
कार्यकर्तादेखि जनता सबै गर्व गर्छन्।
सबै दल मिलेर गएको ३०-३१ साउनमै वार्षिक
विकास कार्यक्रम तय गरिसकेको नेपाली काङ्ग्रेसका जिल्ला सचिव केशव
चौलागाईंले बताए। दोलखा एमालेका अध्यक्ष पार्वत गुरुङ दशैंलगत्तै टेन्डर
सकेर भ्रष्टाचार र विवादका लागि ठाउँ नै नरहने गरी काम शुरु हुने
बताउँछन्। जिल्लादेखि गाउँ तहसम्मका सर्वदलीय समितिमा बसेका नेता कुनै पनि
आयोजनाको उपभोक्ता समितिमा बस्न नपाउने संहितामा बाँधिएका छन्।
दोलखाको भूगोलमा वर्षमा तीन बाली पाक्ने
७६२ मिटर उचाइको सित्तले र जफेबेंसीदेखि ८ हजार मिटर अग्लो गौरीशङ्कर
हिमाल छन्। जिल्लाको प्रवेशद्वार निगाले लेकबाट दक्षिणपूर्वतिर हेर्दा
दोलखाको सौन्दर्यलाई एक दृश्यमा समेट्न सकिन्छ, जसभित्र सदरमुकाम चरिकोटमा
अग्लिदो हाइराइज बिल्डिङ समेत पर्छन्। दोलखावासीले आफ्नो भौगोलिक
अनुकूलतासँगै जलस्रोत, सांस्कृतिक सम्पदा र जैविक विविधताको प्रचुरतालाई
पनि बुझ्ेका छन्। जिल्लाको आर्थिक सामर्थ्य बढाउन एकजुट दोलखावासी
नगदेबाली र पशुपालनको माध्यमबाट कृषिमा मुलुककै नमुना हुने अभियानमा छन्।
उज्यालो क्रान्ति
मुलुकको कुल विद्युत् उत्पादन क्षमता ४३ हजार मेगावाटको १० प्रतिशत (४५००
मेवा) दोलखामै छ। १० वर्षअघि निर्मित खिम्ती (६० मेवा) निजी क्षेत्रबाट
निर्मित देशकै पहिलो जलविद्युत् केन्द्रबाट दोलखाले वार्षिक रु.९० लाख
रोयल्टी पाइरहेको छ। दोलखाको उज्यालो क्रान्तिलाई स्वदेशी लगानीको
माथिल्लो तामाकोशी आयोजना (४५६ मेवा)ले नयाँ उचाइमा पुर्याएको छ।
तामाकोशी आयोजनाबाट अत्यन्तै दुर्गम उत्तरी दोलखाको काँचुली त फेरिनेछ नै,
भारत-चीन जोड्ने सबैभन्दा छोटो उत्तर-दक्षिण राजमार्गको सपना पनि साकार
हुनेछ।
यो परियोजनाका लागि उत्तरी दोलखामा बनेको
सडकले चीनको सिमाना छुँदैछ भने सदरमुकाम चरिकोटबाट दक्षिण हान्निएको
सडकले महोत्तरीको जलेश्वरहुँदै नेपाल-भारत सीमाको भिट्टामोड ताकेको छ। यो
सडकले भारत र चीनलाई पाँच घण्टामै जोड्ने भएपछि दोलखा स्वतः एउटा ठूलो
व्यापार ट्रान्जिट बन्ने जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष रामेश्वर
मानन्धर बताउँछन्। २६५ किलोमिटरको यो राजमार्ग उत्तर-दक्षिण नेपालका लागि
नयाँ रक्तधमनी हुने अध्येता विमल पोखरेलको विश्लेषण छ।
तामाकोशीकै नागदह क्षेत्रमा ९६ मिटर
अग्लो बाँध बनाएर ८८० मेगावाट बिजुली उत्पादन गर्ने महत्वाकाङ्क्षी
तामाकोशी तेस्रो आयोजनाको सम्भाव्यता र वातावरणीय प्रभावबारे विस्तृत
अध्ययन गर्न लागेको नर्वेको एसएन पावर कम्पनीले काम थाल्न नेपाल सरकारको
अन्तिम निर्णयको प्रतीक्षा गरिरहेको छ। भारतीय कम्पनी ग्रीन भेन्चरले पनि
तामाकोशी तेस्रोको प्रस्तावित आउटलेट भन्दा २०० मिटर तल अर्को बाँध बनाएर
४०० मेगावाट बिजुली निकाल्ने सम्भाव्यता अध्ययन अगाडि बढाएको छ।
यसबाहेक जिल्लाका मझ्ौला खोलाहरूबाट
एकदेखि पाँच मेगावाट क्षमताका ४२ आयोजनाको सर्वेक्षण सकिएको छ। स्थानीय
जनतालाई जलविद्युत् केन्द्रको मालिक बनाउने अभियान अनुसार १० मेगावाटको
सिप्रिङ खोला आयोजनाबाट प्रभावित खारे र गौरीशङ्कर गाविसवासीलाई पाँच
प्रतिशत शेयर दिने सम्झौता भएको छ, सिनर्जी नेपालसँग। मावादीका दोलखा
सह-सेक्रेटरी विशाल खड्का राजनीतिक दलहरूको सुझ्बुझ्बाट सम्भव भएको यो
सम्झ्ौता अन्यत्रका लागि नजिर हुने बताउँछन्। माथिल्लो तामाकोशीको १०
प्रतिशत शेयर दोलखावासीका लागि छुट्याइसकिएको छ।
हरियो वन दोलखाको धन
काठमाडौंबाट सिन्धुपाल्चोक छिचोल्दा होस् या रामेछापबाट पश्चिम
आउँदा, जहाँबाट हरियाली शुरु हुन्छ त्यहीँदेखि दोलखा लाग्यो भन्ने बुझ्े
हुन्छ। दोलखाको २१९१ वर्ग किलोमिटर क्षेत्रफलमध्ये ४७ प्रतिशतमा वन छ।
जिल्ला भू-संरक्षण कार्यालयका प्रमुख
शेरबहादुर श्रेष्ठका अनुसार धान, मकै, गहुँ हुने औलका १६ गाविसको उपोष्ण
प्रदेश (७६२-१२०० मि.)का खाली जमिनमा अनार, केरा, कुरिलो, अम्बा, लिची
जस्ता नगदेबाली लगाउने अभियान शुरु भइसकेको छ। यस्तै, समशीतोष्ण क्षेत्र
(१२००-२२०० मि.)मा किवी, अलैंची, अदुवा, चिया, अमि्रसो आदि रोप्ने लहर
चलेको छ। यसका लागि बोच गाविसस्थित बागवानी अनुसन्धान केन्द्र निकै गुलजार
भएको छ, कृषकहरूको बाक्लो आउजाउबाट। शीतोष्ण क्षेत्र (२२००-३००० मि.)मा
आलु, मुला, बन्दा जस्ता नगदेबालीको उत्पादन बढाइएको छ।
प्रशस्त निजी वन रहेको दोलखाले वन
पैदावारको व्यवसायीकरणमा पनि धेरै विचार पुर्याएको छ। जिरीस्थित एभरेष्ट
गेटवे हर्ब्स प्रालिका अध्यक्ष मित्र जिरेल सामुदायिक र राष्ट्रिय वनलाई
कबुलियतमा लिएर अर्गेली र अन्य जडिबुटीको नर्सरी बनाउने काम जिल्लाभर
बढेको बताउँछन्। वार्षिक १० मेटि्रक टन कच्चा पदार्थ प्रशोधन गर्ने
कम्पनीले अहिले रु.२० लाख बराबरको कारोबार गरिरहेको अध्यक्ष जिरेलले बताए।
जिल्लाभर लोक्ता प्रशोधन उद्योग मात्र ३१ वटा छन्, जसमा रु.३ करोड
स्थानीय लगानी छ।
१७५ कबुलियती वन समूह रहेको दोलखाका ६१
हजार घरधुरी ३८७ वटा सामुदायिक वनमा आवद्ध छन्। औद्योगिक विश्वको कार्बन
खपतबापत गत आर्थिक वर्षमा दोलखाका ५८ सामुदायिक वनले रु.३१ लाख ५० हजार
पाएका थिए। विभिन्न औषधिजन्य सुगन्धित वनस्पतिसँगै धसिङ्ग्रेको तेल
उत्पादन गर्ने दोलखा मुलुककै पहिलो जिल्ला हो। सौन्दर्य सामग्री र औषधि
उत्पादनमा प्रयोग हुने धसिङ्ग्रेको तेल प्रतिकिलो रु.१५०० मा युरोप
निर्यात हुन्छ।
५५ सामुदायिक र २१ कबुलियती वन समेटिएको गौरीशङ्कर संरक्षण क्षेत्र आयोजना दोलखाले नै शुरु गरेको छ।
स्वावलम्बी साम्राज्य
जिल्लामा जलस्रोतपछि पर्यटन र कृषिको ठूलो सम्भावना देखेका दोलखावासी यी
क्षेत्रमा सरकारको मुख नताकी आफैं स्वावलम्बी बनेका छन्। उनीहरूको नारा नै
छ― जलशक्ति, पर्यटन र अन्न कृषिबाली- शिक्षा, स्वास्थ्य र यातायातले
सम्मुन्नत दोलखाली। दोलखाको एउटा सुन्दर गन्तव्य जिरी र यस आसपासका गाउँका
बासिन्दाले गरेको चिया, गोलभेंडा र अकबरे खुर्सानीको व्यावसायिक खेतीलाई
यसको पछिल्लो उदाहरण मान्न सकिन्छ। गत वर्षसम्म प्रतिकेजी रु.६०-७० मा
बाहिरको गोलभेंडा खाएका जिरीवासीले यसपालि आफैं उत्पादन गरेर करिब २० हजार
केजी काठमाडौं निर्यात गरे।
जिरीबाट आलु मात्र बर्सेनि रु.४ करोडको
निकासी हुने दोलखा उद्योग वाणिज्य संघ जिरी शाखाका पूर्व अध्यक्ष भूमिराज
खड्काले बताए। यो भेगका किसानको पौरखको सूचीमा पशुपालन र माछापालन पनि
थपिएको छ। बङ्गुर र कुखुरापालनमा अघि बढिसकेको दोलखामा व्यावसायिक ट्राउट
खेतीका लागि हलहले डाँडा रोजिएको छ। रु.४२ लाख लागतका पोखरीमा एकैपटक ३०
हजार भुरा हालिएको यस फार्मलाई देशकै ठूलो ट्राउट केन्द्र बनाउने सोचले
काम भइरहेको छ। यस फार्ममा एमावादीका जिल्ला नेताहरूको लगानी छ।
एक विदेशीले उच्चकोटिको ऊन दिने
अष्ट्रेलियन अल्पका भेडापालनका लागि जिरी नै उपयुक्त ठहर्याएका छन्।
चिनियाँ गाई र जापानी रेन्बो ट्राउट माछा दोलखाको परिचयमा जोडिएका पछिल्ला
विशेषता हुन्। कालिञ्चोक काउ फार्मले बोचमा ५०० गाई पाल्न पूर्वाधार
निर्माण गरिरहेको छ। १२ करोड लगानीको यो फार्मले दैनिक २००० लिटर दूध
उत्पादन गर्ने लक्ष्य लिएको छ। दैनिक ४० लिटरसम्म दूध दिने चिनियाँ गाईलाई
सुहाउँदो हावापानी यही क्षेत्रमा भएकाले आफूले सक्दो सहयोग गरेेको एमाले
पोलिटब्युरो सदस्य पशुपति चौलागाईंले बताए। “काम थाल्नेहरूलाई राजनीतिक
स्तरबाट उत्साहित पार्ने हाम्रो अभियान नै छ”, चौलागाईं भन्छन्।
आन्तरिक पर्यटनमा दोलखाली व्यवसायीहरूले
देखाएको स्वावलम्बन अर्को उदाहरण हो। मुलुकभित्र बढ्दो आन्तरिक पर्यटनका
कारण मात्र हैन, दोलखाले गरेको पूँजी निर्माण र आर्थिक गतिविधिका कारण पनि
सदरमुकाम चरिकोट र अन्य उदाउँदा बजार क्षेत्रका होटलहरू खचाखच हुन थालेका
छन्। राजधानीबाट बाहिर निस्कनेहरूका लागि दोलखा नयाँ गन्तव्य बनेको होटल
व्यवसायीहरू बताउँछन्। एमालेका दोलखा अध्यक्ष गुरुङ भन्छन्, “अब स्थानीय
दलीय समन्वयबाट सम्भव हुने विकासको नमुना देखाउन अन्य जिल्लाका नेताहरूका
लागि राजनीतिक पर्यटन शुरु गर्दैछौं।”
|
अष्ट्रेलियाबाट ल्याइएको अल्पका भेडापालन । |
यस्तो सुरुआत भई पनि सकेको छ। जस्तो,
गएको एक वर्षमा पेशागत सङ्गठन, गैर-सरकारी सञ्जाल र राजनीतिक दलका भ्रातृ
सङ्गठनहरूले आधा दर्जन राष्ट्रिय भेला चरिकोटमै गरे। ठूला पार्टीका नेता,
मन्त्री र उच्चपदस्थ सरकारी कर्मचारीहरू बिदा मनाउन चरिकोट आउन थालेका
छन्।
८७०० सदस्य रहेको जनसचेतन बचत तथा ऋण
सहकारी संस्थाबारे अध्ययन गर्न दोलखा आएका देशभरका सहकारीकर्मीहरूको कुनै
हिसाब छैन। रु.११ करोड निक्षेप सङ्कलन गरेको जनमुखी बचत तथा ऋण सहकारी
संस्था पनि दोलखामै छ। रु.१० करोड निक्षेप सङ्कलन गरेको फ्रेन्डसीप सहकारी
संस्थाको अध्ययन भ्रमणका लागि गत वर्ष एकहजार मानिस जिरी पुगेका थिए।
पूर्वाधारमा अग्रणी
दोलखावासीले पक्की सडकमा मोटर चढेर काठमाडौं होरदोहोर गरेको ३० वर्ष
पुग्दैछ। अहिले दोलखाका ५१ गाविसमध्ये ४६ वटामा मोटर पुग्छ। दोलखाका १५
भन्दा बढी गन्तव्यका लागि काठमाडौंबाट गाडी छुट्छन्। गाउँ-गाउँमा भइरहेको
सडक विकाससँगै पहिरो बढेको र उब्जाउ जमिन घटेकाले डोजर प्रयोग नगर्ने
राजनीतिक सहमति भएको छ।
सगरमाथाको ढोका भनेर चिनिने जिरीमा २०१८
सालमै विमानस्थल बनेको थियो। लुक्लामा विमानस्थल नबनुन्जेल सगरमाथा
आधारशिविर जाने पर्यटकहरू जिरीबाट पैदल नाम्चेबजारतिर लाग्थे।
स्वीट्जरल्यान्डको जुरिच उपत्यका जस्तै जिरीमा स्वीसहरूले २०४० सालतिरै
सुविधासम्पन्न अस्पताल, प्राविधिक शिक्षालय र पक्की सडक पुर्याइदिएका
थिए। हाल बन्द विमानस्थल सञ्चालन, नयाँ पदयात्रा मार्गको विकास र जिरी
उपत्यकाको समग्र विकासलाई गति दिन पहल भइरहेको जिरी उमाविका प्राचार्य
टेकबहादुर जिरेल बताउँछन्।
धार्मिक र सांस्कृतिक पर्यटनमा दोलखाको
विशेष महत्व छ। पुरानो दोलखा बजार काठमाडौंका नेवारहरूको आदि थलो रहेको
संस्कृतिका अध्येता शान्तकृष्ण श्रेष्ठ बताउँछन्। उनका अनुसार, दोलखाका
भीमसेन काठमाडौंका नेवारहरूका इष्टदेव हुन्। मानदेवको मानाङ्कअघि नै
दोलखाका राजा इन्द्रसिंह देवले चाँदीको मुद्रा चलाएको इतिहासले यो
जिल्लाको प्राचीन समृद्धि झ्ल्काउँछ। तिब्बतसँग व्यापार, नेपाल खाल्डोसँग
सम्बन्ध, खेतीयोग्य नदी किनार र बेंसीहरूले दोलखालाई कृषि, व्यापार र
उद्योगमा उतिबेलै आत्मनिर्भर बनाएको थियो।
मल्लकालीन नेपालमा दोलखा राज्यको सीमा
पश्चिममा नेपाल (इन्द्रावती), पूर्वमा माझ्किराँत (दूधकोशी) दक्षिणमा
मकवानपुर (भित्रीमधेश) र उत्तरमा हिमालय पर्वत (तिब्बत)सम्म फैलिएको थियो।
शताब्दीयौंपछि अहिले नेपालमा राज्य पुनर्संरचनाको बहस चल्दा दोलखाले आफ्नो
आत्मनिर्भर ऐतिहासिक अस्तित्वको स्मरण गरेको छ। दोलखाले संघीय नेपालमा
एउटा प्रान्तको पहिचान पायो भने ऐतिहासिक आत्मनिर्भरता आधुनिक समृद्धिको
तहमा उक्लने आधारहरू प्रशस्त छन्।
Source: Himal Khabar Patrika
0 comments:
Post a Comment