गजल
– श्रेष्ठ सत्य
सांसारिक मायाँदेखि अत्ती नै थाकिसकें ।
जीवनको गाडिलाई मृत्युतिरै हाँकिसकें ।।
शरिरसँगै यसै धर्तीमा छाडेर जानैपर्ने,
मिथ्या धनको पछि लाग्ने बानी त्यागिसकें ।
अलग छैन केही पनि त्याग र प्राप्तिमा,
संसारको दुख सुख धेरै नै चाखिसकें ।
नातागोता, आफन्त क्षणभरकै मात्र सारा,
सधैंको साथी मैले परमात्मा ताकिसकें ।
पर्दिन विचारको काल्पनिक खेलमा अब
चेतनाको ज्योतिले मनलाई ढाकिसकें ।
चाहिन्न कसैको शिक्षा दीक्षा पनि मलाई,
आफ्नै अनुभवले म त अत्ति पाकिसकें ।
सपना, भावना हो, नआऊ अब वरिपरि
सत्यलाई घरमा सदालाई डाकिसकें ।
दोलखा, नेपाल
हाल, बेलायत
0 comments:
Post a Comment