मेरा गन्तव्यहीन यात्राहरु

यतिका बर्ष बितिसकेछन मेरा कुनै लक्ष्य बिनानै । अब जीउनु पनि कति नै छ र बाँकि यस धर्तीमा ? अनि के नै पो गर्न सक्छु र मेरा बाँकि जिन्दगीमा? फगत जीउनु सिवाए । लक्ष्यहरु प्राप्तिको लागि जीन्दगीका दौरानमा अनेकौ हण्डर पनि खाइयो, तर अपसोच! गन्तब्यमा नपुग्दै मेरा ती सबै लक्ष्यहरु बीचबाटोमै चकनाचुर हुन्थे । हेरौं, यी मेरा बाँकि जीन्दगीमा लक्ष्य प्राप्ति हुनेछ या छैन? तरपनि गन्तव्यहीन यात्रामा लक्ष्य प्राप्तिको लागि मेरो हर प्रयास रहनेछ.....रहिरहनेछ

मेरा भावना...

Follow Me on Twitter

धन कमाउने ठूलो सपना देख्दै छु म विदेशमा
थाकेको यो ढाड घाममा सेक्दै छु म विदेशमा

उहाँ छँदा नाम्लो पनि नछोएका हातहरूले
सकी नसकी भारीहरू थेग्दै छु म विदेशमा

सक्दिनँ म हिँड्न पनि दुखिएका पैतालाले
ऐया ! आमा भन्दै भुइँ टेक्दै छु म विदेशमा

आमा, अब न्यूरोडको बिष नमाग्नुस है!


डा. सुनिल मास्के, दोलखा 

सधैँ झैं गत सालको दशैँ अगाडि मेरी आमासँग फोनमा कुरा भएको थियो। मैले घटस्थापनाको दिन आउँछु र के के लिएर आउनु पर्छ भनी सोधेको थिएँ। जवाफमा उहाँले भन्नुभयो- अब साडी चोलो केही ल्याउनु पर्दैन घरमा भएको पनि सबै लगाएको छैन। बरु गुँदपाक र पुष्टकारीहरु लिएर आइजा पाहुनाहरु र केटाकेटीहरुलाई दिन हुन्छ अरुथोक त सबै यही छ केही लिएर आउनु पर्दैन।
म पढने शिलशिलामा काठमाण्डौ आएको बेला देखि नै प्रत्येक चोटी घर जादाँ आमालाई मन पर्ने गुँदपाक नै लगेर जान्थे। प्रायश: हाम्रा आफन्तहरु र पाहुनाहरुले पनि हाम्रो घरमा आउँदा गुँदपाक नै लिएर आउनु हुन्थ्यो। आमाले त्यो गुँदपाक टिकाएर राखि घरमा आउने छिमेकीहरु, पाहुनाहरु, नाति नातिनीहरुलाई बाँढेर खुवाउनु हुन्थ्यो। गुँदपाक बाँडेर दिदा ल खानु फलानो ल्याएको गुँदपाक अथवा फलानोले पठाएको, खाएर हेर्नु भन्नु हुन्थ्यो। आमा पनि मुख नमिठो हुँदा, के खाउँ के खाउँ हुँदा त्यही गुँदपाकको आनन्द लिनु हुन्थ्यो। मैले पनि घर जाँदा धेरै चोटी त्यही गुँदपाक र पहाडको चिउरासँग भोक मेटेको छु।

विदेशमा बस्दा आफन्तहरुले पठाएको न्यूरोड गेटको गुँदपाक, लाखमरी, पुष्टकारी, र तितौराहरुको स्वादमा म धेरै चोटी रमाएको थिएँ। विगतको दिनहरुको सम्झना गर्दै मैले पनि विदेशमा बस्ने आफन्तहरुलाई न्यूरोड गेटको गुँदपाक, लाखमरी, पुष्टकारी र तितौराहरु उपहार लगेको छु। उनीहरुले त्यो गुँदपाक, लाखमरी, पुष्टकारी र तितौराहरु रमाउँदै खाएको दृष्य मेरो आँखा अगाडि ताजै छ। एक वर्ष अघिको कुरो हो मेरो मिल्ने साथी सरकारी काममा पश्चिम नेपालको भ्रमणमा गएको थियो। उनलाई मैले त्यही न्यूरोड गेटको गुँदपाक पसलबाट पुष्टकारी र तितौराहरु किनेर पठाएको थिएँ। पुष्टकारी मुखमा खेलाउँदै उकाली चढदाको रमाईलो क्षणको बयान गर्दै मलाई फोन गरेको थियो। काठमाण्डौंमा बसि पश्चिम नेपालको पहाडी उकालीको कुरा सुन्दा मलाई पनि रमाईलो लागेको थियो। उकाली र उ कालो (पहाडी उकाली र कालो पुष्टकारी) सँगको यात्रा अविश्मरणीय छ भनी ऊ जिस्किँदा मैले “अर्को चोटी गयौ भने गुँदपाक” पनि किनिदिन्छु भन्दा ऊ कम्ती खुशी भएको थिएन।

यति मात्र कहाँ हो र ? हाम्रो समाज अनि संस्कारमा पनि मिठाईको सम्बन्ध गहिरो छ। दशैं, तिहार, तिज, औंसी, अन्य चाड पर्व र एस.एल.सी. वा अन्य परीक्षाहरुको नतिजा प्रकाशनको बेला साँझ विहान, न्यूरोड गेटको गुँदपाक पसल र मीठाई पसलहरुमा लागेको लाईन सम्झदा हामी सहजै अनुमान गर्न सक्छौँ की म जस्ता लाखौँ नेपालीहरुको सम्वन्ध त्यो गुँदपाक अनि ती मिठाईहरु संग छ।


नेपालीहरुको महान पर्व दशैं मुखैमा आई सकेको छ। केही दिन अगि मैले आमा अनि आमालाई मन पर्ने गुँदपाक र पुष्टकारी सम्झदै थिए। अनयास एम.एम. रेडियोको अडियो पोष्ट कार्यक्रममा न्यूरोड गेट र अन्य मिठाई पसलहरु सडेको मिठाई, कुहिएको बोसो, आन्द्रा, ढलको पानी आदी अखाद्य तत्व मिसाई गुँदपाक तथा अन्य मिठाईहरु बनाएको खवर सुन्दा आँङ सिरिङ्ग भएर आयो।

म जस्तै लाखौ छोराहरुले आफ्नो आमालाई मिठाई हैन बिष पो उपहार लगेर दिएका रहेछौ। अनि आमाहरुले त अहिले सम्म गुँदपाक नाम गरेको बिष पो टिकाएर राखि घर छिमेकीहरु, पाहुनाहरु, आफ्नै नाति नातिनीहरुलाई बाँढेर खुवाउनु भएको रहेछ। साथीहरुलाई माया गरेर बिष पो सेवन गराएका रहेछौं। यतिले नपुगेर सात समुद्र पारी रहेका आफन्तहरु साथीभाईहरु नासो भनि बिष पो पठाएका रहेछौं।
चाड पर्व र सफलताका खुशियालीहरुमा बिषको आदन प्रदान गरी दीर्घायू र सफलता शुभ-कामनाहरु बाँढेर हिडेका रहेछौं। औंसी अनि दशैंको बेला आमा, बुबा अनि मान्यजनहरुको दीर्घायूको कामना गर्न र आशिर्वाद थाप्न भनि शहरवाट गाउँमा खोजि खोजि गएका हामीहरु त बिष खुवाउन पो गएका रहेछौं। दीर्घायूको नाममा अल्पायूको ट्याबलेट पो बाँढेर, खुवाएर आएका रहेछौ। तिहारमा दाज्यू भाईको दीर्घायूको कामना गर्दै यमराजवाट खोस्ने भनि गएका चेलीहरुले त यमराज भेटने राजमार्ग पो बानाएका रहेछन।
श्री नरेन्द्र मास्के, अनि तपाई जस्तै अमृतको प्यालामा बिष खुवाउने मिठाईवालाहरु! तपाईहरुलाई, तपाईहरुलाई जस्तै जन्म दिने आमाहरुले पनि यो मिठाई खान्छन भन्ने सोच आएन हगि? तपाईहरुलाई, तपाईहरुको जस्तै दाजू भाई, दिदी बहिनी अनि नाताकुटुम्भहरुले पनि यो मिठाई खान्छन भन्ने याद आएन हगि? आमाको अलिकति पनि सम्झना आएन? दाजू भाई, दिदी बहिनी अनि नाताकुटुम्भहरु कसैको पनि याद आएन हगि?

आमाहरु पवित्रताको जननी अनि मायाकी खानी हुन, तपाईहरु जस्तो सपुतहरुको यो बिष व्यापारको समाचारले तपाईहरुको आमा अनि तपाईहरु जस्तै छोराका आमाहरुको मन कति रोई रहेका होलान कस्तोलाई जन्म दिएँ भनेर। आमाले नै जन्म दिएको छोराहरु हो भने एक चोटी आफ्नो आमाको मनलाई छोएर हेर्नुस त? पैसाको आहालमा पौढ्दै जादाँ छोरो भएर जन्मेर पनि मानविय मूल्य र मान्यता सबै लत्याउनु भयो, धिक्कार छ छोरो हुनुमा।

अनि मानव जाती कै नष्ट गर्न तम्सेका यस्ता छोराहरुलाई छोटो समयको सजायँ र मात्र पचास हजार रुपैया जरिवानाको पुरस्कार दिई पुन: यस्तै कामका लागि हौसला दिने तपाई न्यायको हवाला दिने छोराहरुलाई पनि वधाई !!!

संसारमा तपाई भन्दा पनि हजारौं गुणाको आर्थिक संकटमा अरवौं छोराहरु छोरा भएर बाँची रहेका छन- एक चोटी उनीहरुलाई फर्केर हेर्नुस।

श्रदेय आमाहरु अबको दसैंदेखि न्यूरोड र अन्यत्रको गुँदपाकी बिष नमाग्नु होला। घरमा जे जस्तो छ त्यसैवाट सत्कार गर्नु होला। अन्जानमा पाहुना, छिमेकी, आफन्तलाई बाँढेको बिषको पाप हामीहरुले भोग्नु पर्दैन। त्यसै गरी आगामी तिहारमा दिदी बहिनीहरुले पनि मिठाई बिष बोकेर माईत नजानु होला।तपाईहरुको माया, ममता र आशिर्वाद मात्र पनि काफी छ माइतलाई

साभार: मेरोसंसार
 

0 comments:

Post a Comment



 

यहाँ बाट बाड्नुहोस

We have to develope Dolakha and Dolakha culture