मेरा गन्तव्यहीन यात्राहरु

यतिका बर्ष बितिसकेछन मेरा कुनै लक्ष्य बिनानै । अब जीउनु पनि कति नै छ र बाँकि यस धर्तीमा ? अनि के नै पो गर्न सक्छु र मेरा बाँकि जिन्दगीमा? फगत जीउनु सिवाए । लक्ष्यहरु प्राप्तिको लागि जीन्दगीका दौरानमा अनेकौ हण्डर पनि खाइयो, तर अपसोच! गन्तब्यमा नपुग्दै मेरा ती सबै लक्ष्यहरु बीचबाटोमै चकनाचुर हुन्थे । हेरौं, यी मेरा बाँकि जीन्दगीमा लक्ष्य प्राप्ति हुनेछ या छैन? तरपनि गन्तव्यहीन यात्रामा लक्ष्य प्राप्तिको लागि मेरो हर प्रयास रहनेछ.....रहिरहनेछ

मेरा भावना...

Follow Me on Twitter

धन कमाउने ठूलो सपना देख्दै छु म विदेशमा
थाकेको यो ढाड घाममा सेक्दै छु म विदेशमा

उहाँ छँदा नाम्लो पनि नछोएका हातहरूले
सकी नसकी भारीहरू थेग्दै छु म विदेशमा

सक्दिनँ म हिँड्न पनि दुखिएका पैतालाले
ऐया ! आमा भन्दै भुइँ टेक्दै छु म विदेशमा

जापानः किफायती, अनुशासित र अविचलित

 
 
केदारभक्त माथेमा
ए क साताअघिको शुक्रबार साँझ जापानमा प्रलयकारी भुइँचालो र सुनामी आएको खबर जब पहिलोपटक सुनेँ, मेरो जीवनमा म आफैंलाई यो विपत्ति आएको हो कि जस्तो भयो । मुलुकबाहिर घटेको एउटा घटनाले यति साह्रो मलाई कहिल्यै हल्लाएको थिएन । त्यही जापानभूमिमा छ वर्षसम्म बसेका कारणले हुन सक्छ, त्यहाँ अलपत्र परेका नागरिक र मृतकहरूको शव देख्दा हरेकपटक म छोइएको छु । अहिले पनि म छिनमा रेडियो सुन्छु, छिनमा टिभी हेर्छु । 'माइन्ड सेटल' हुन सकेको छैन ।
जापानको कोबेमा आएको विनाशकारी भुइँचालो लगत्तै म सन् १९९८ मा टोकियो उत्रिएको थिएँ । त्यसबेला त्यहाँ मुस्किलले ८/१० वटा नेपाली रेस्टुराँ थिए । नेपालीहरूको भीड आज जत्तिको थिएन । आज झन्डै दुई दर्जन नेपाली रेस्टुराँ पुगेका छन् रे टोकियोमा मात्रै । त्यस बेला नेपाली ओसाका,
टोकियो, नागोया, नागानुजस्ता सहरमा बढी केन्दि्रत थिए र आज यो अनुपात सेन्दाइ, फुकसिमातिर पनि बढेको रहेछ ।
म राजदूत भएर गएका बेला मुख्य कुरा आम नेपाली सर्वसाधारणमा दूतावासलाई आफ्नो घर, आफ्नो ठाउँ भन्ने भावना निकै कम रहेको अनुभूति हुन्थ्यो । राजदूत भनेको एउटा 'महामानव' हो कि भन्ने भावना व्याप्त थियो । आमनागरिक र राजदूत दुवैले यो 'दूरीयुक्त भावना' हुर्काएका थिए । दूतावास आउने नेपाली सर्वसाधारणहरू त तल्लो तहका स्थानीय कर्मचारीसँग पनि डराइरहेका हुन्थे । टाइ लाउनेहरूसँग सर्वसाधारणले कुरा गर्नै सकिरहेका हुँदैनथे । डराइडराई नेपाली दूतावास छिर्ने त्यो अवस्था र स्थिति आफैंमा दुःखलाग्दो थियो । आफ्नो दूतावासभित्र आउँदा पनि 'कतै कसैले समातिहाल्छ कि' भन्ने मनोदशा सबैमा देखिन्थ्यो । फेरि तलका प्रशासनिक कर्मचारीहरूको बोली र व्यवहार पनि रूखो र तर्साउनेखालको हुन्थ्यो । अहिले यसमा धेरै सुधार भएको छ, अझै सुधार बाँकी पनि छ ।
मुख्य कुरा दूतावासमा सहज पहुँच नरहनु हाम्रो कूटनीतिक वृत्तको समस्या हो । 'पिपुल प|mेन्डली' कूटनीति सधैंको आवश्यकता हो । मैले जापान बसाइमा बुझेको अर्को यथार्थ के हो भने नेपाली मन पराउने जापानीको संख्या त्यहाँ सानो छैन । जापानमा नेपाली विद्यार्थीको सक्रियता पनि कम्ती छैन । यो समुदायलाई जहिल्यै ध्यानमा राखेर 'मोबिलाइज' गर्न/गराउनमा पनि कूटनीतिक नियोगहरू पछि परिरहेको जस्तो लाग्छ ।
जापानमा आइपरेको दोस्रो विश्वयुद्धपछिको अहिलेको विपत्तिजन्य स्थिति आफ्नै जीवनमा प्रतिबिम्बित हुने एउटा सन्दर्भ पनि हो । समाजमा बढ्दो यत्रो देखावट, यत्रो तामझाम र ढोंग केका लागि हो ? यो सोचनीय कुरा हो । मुख्य कुरा के हो भने जापानीहरू अमेरिकीजस्तो होइन । अमेरिकीहरू घर, भवनहरू आलिसानयुक्त बनाउँछन्, ती झकिझकाउ हुन्छन् । जापानी घरहरू साना र चिटिक्क परेका हुन्छन् । जीवनलाई कसरी सहज र सरल बनाउने भन्ने उपाय जापानीहरूसँग लुकेको छ । अहिले आइपरेको विपत्तिको कुरा भने अर्कै हो । अब मलाई के लाग्छ भने अहिलेको विपत्तिले अझ सहज र सरल जीवन बिताउनमा जापानीहरू उद्यत हुनेछन् । देखावटी सानसौकत र ठूलो रबाफको अर्थ छैन भन्ने सार उनीहरूले बुझ्दै आएका थिए र सरलतातिर अघि बढ्न यो घटनाले अझ प्रेरित गर्नेछ ।
नेपाली र जापानीबीचको सम्बन्धमा एउटा मोहनीझैं समझदारीको सेतु रहेको छ । म जापान छँदा एकजना सांसदले संसद्मा भनेका थिए- 'जहाँसम्म नेपालीको कुरा छ, सत्तापक्ष र विपक्षको केही विमति छैन । नेपाल र नेपालीका मामलामा हरेक कुरामा हामी एकै ठाउँमा हुन्छौं ।' योभन्दा ठूलो सद्भाव अरू केही हुन सक्दैन । हामीबीच आत्मीयताको एउटा बिरुवा छ, यसलाई हामीले सक्दो मलजल गरेर मर्न मात्रै दिनु भएन ।
आज जापानमा देखिएको विपत्तिले सिंगो विश्व नै आर्थिक मन्दीमा जान सक्ने अनुमान चलेको छ । संसारको सबैभन्दा बढी ठूलो र महँगो उपभोक्ता रहेको मुलुकमा यो दह्रो क्रयशक्तिमा गिरावट आएमा के होला ? अब अमेरिका र चीनले पनि एकसाथ चिन्ता गर्नुपर्छ, अबका दिनमा जापानी नागरिकले आफ्नो क्रयशक्ति घटाए भने उता मन्दी बढ्ने स्थिति उब्जिएको छ । फेरि जस्तै विपत्तिमा पनि विचलित नहुने जात हो जापानी । उनीहरू वैकल्पिक जीवनशैली रोज्न र अपनाउन पनि सक्छन् । स्रोतसाधन छ भन्दैमा उनीहरू सौखिन बनेर एकपटक ट्वाइलेट फ्लस गर्दा पानीको मूल फुटाएसरि गर्दैनन् । साह्रै किफायती र अनुशासित जात हो यो ।
मलाई लाग्छ, न्युक्लियर प्लान्टको नसोचेको त्रासदी फैलिएकाले यसको विकल्प पनि खोज्न सक्छन् उनीहरू । यो कल्पनाभन्दा बाहिरको विपत्ति हो, ५ हजार किमिप्रति घन्टामा सुनामी आउला भनेर कुनै मौसमविज्ञानले पनि भन्न सक्ने कुरा भएन । तर अबका दिनमा परमाणु शक्तिको निर्भरतामा पनि जापानीहरूले पक्कै विकल्प खोज्नेछन् । जापान एकदमै व्यवस्थित र पद्धतिले चलेको मुलुक हो । यत्रो विपत्ति परिसक्दा पनि बजारमा पाइने अन्डा, चामल वा कुनै उपभोग्य कुराको मूल्य बढेको छैन । अमेरिकाकै न्युअर्लियन्समा दुई वर्षअघि 'हुरिकेन' आउँदा हाहाकारको स्थिति उब्जिएको थियो । तर यत्रो विपत्तिमा पनि जापान आज शान्त छ ।
जापानमा विपत्ति आइसकेपछि नेपालीको स्थिति र अवस्था पहिल्याउने कुरामा केही अन्योल अथवा कठिनाइ पर्नाको कारण के पनि हो भने हामीसँग 'रेकर्ड सिस्टम' छैन । हामीले यो विपतमा सिक्नुपर्ने कुरा के हो भने हाम्रा सन्तान के, कता र कहाँ छन् भनेर 'अपडेट' राख्नुपर्ने रहेछ । जे कुरामा पनि 'टेकन फर ग्रान्टेड' बानीले हामी आफैंलाई अप्ठ्यारामा पार्नेरहेछ । यसकारण रेकर्ड राख्ने काम तत्काल र अनिवार्य रूपमा दूतावासले सुरु गर्नुपर्छ । अर्को कुरा, कूटनीतिमा 'संकेत' को महत्त्व काफी हुन्छ । आज जापानको विपत्तिमा परेर ज्यान गुमाउने वा बेपत्ता हुनेका नाममा हामी नेपालीले लुम्बिनीमा गएर बत्ती बालेमा मात्रै पनि यो संकेतको अर्थ धेरै गहिरो हुन सक्छ ।
समाजमा बढ्ने अन्योल, अस्थिरता र मनोमानीका कुरा उठ्दा हामीकहाँ जहिल्यै पनि राजनीतिक अस्थिरतालाई दोष दिने गरिन्छ । तर जापानबाट आज हामीले सिक्नुपर्ने पाठ के हो भने सरकार फेरिए पनि, राजनीति उलटपुलट भए पनि प्रशासनयन्त्रमा स्थिरता भयो भने समाजमा आफैं 'सिस्टम' बस्नेछ । हामीकहाँ सरकार फेरिनेबित्तिकै, मन्त्री फेरिनेबित्तिकै सचिवको हेरफेर हुन्छ । सरकारको अर्थनीति, शिक्षानीति, समाजनीति सबै फेरिन्छ । जापानमा पनि बर्सेनि सरकार फेरिन्छ तर नीतिगत र मूलभूत मुद्दामा खासै अन्तर रहन्न ।
मैले आफ्नो कार्यकालको अन्त्यमा जापानी सम्राटलाई भेट गर्ने क्रममा भनेको थिएँ- 'मौसुफ, म जापानमा छ वर्ष राजदूत भएर बसेका बेला नेपालमा छवटै प्रधानमन्त्री फेरिएका छन्, हाम्रो स्थिति अलि अस्थिर छ ।' सम्राटको जबाफ थियो- 'बितेको छ वर्षमा यहाँ १० वटा सरकार आइसकेका छन्, तपाइं किन छवटा प्रधानमन्त्रीको चिन्ता लिनुहुन्छ ?'
(सन् १९९६ देखि छ वर्षसम्म जापानका लागि राजदूत रहेका माथेमासँग देवेन्द्र भट्टराईले गरेको कुराकानीमा आधारित)

साभार: ekantipur.com

0 comments:

Post a Comment



 

We have to develope Dolakha and Dolakha culture

tamakoshi river

dolakha map

gahana laudako bhimsen

bhimeshwor temple

chhorolpa lake

gaurishankar himal

kalinchowk temple

fuji mountain japan